पोखरा ।।
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ । पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा भएको महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे ।
त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित र्याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित र्यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ सुरु महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवर्द्धन गर्ने माध्यम बनेको महोत्सव संयोजक भट्टराईले बताए ।
साथै, कृषि तथा हस्तकलालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामाग्रीलाई बजारीकरण गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ
मन्त्री गुरुङले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्ने सुझाव दिए । ‘अहिले नै बेलुन फेस्टिबल चलिरहेको छ । ड्रागन बोट हुदैछ । अनि सडक महोत्सव भइहाल्यो । यसरी ३ वटै महोत्सव एकै पटक किन गरेको?,’ उनले भने, ‘फरकफरक मितिमा गरेको भए तीनै पटक पर्यटक आउने, त्यती पटक नै व्यावसाय बढ्थ्यो । त्यही भएर पर्यटन प्रवद्र्धन हुने काम मिलेर गर्नुपर्यो । पर्यटनको विकासका लागि पोखरा एक छ भन्ने सन्देश दिनु जरुरी छ ।
सुरक्षाका लागी ड्रोनबाट निगरानी
सडक महोत्सवमा नेपाल प्रहरीको टोलीले ड्रोनबाट निगरानी गर्ने भएको छ । प्रहरीले यो पटक सडकलाई महोत्सवलाई डिजिटल्ली रुपमा सुरक्षा दिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस बाहेक ४० वटा सिसीक्यामेराबाट पनि सुरक्षाको काम गरिने उनले सुनाए ।