पोखरा ।।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासङ्घको १९औं स्थापना दिवसमा दिव्यज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासङ्घको १९औं स्थापना दिवसका अवसरमा पोखरा पुस्तक तथा स्टेशनरी सङ्घले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पोखरा-१६ स्थित दिव्यज्योति आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। विद्यालयको पुस्तकालयलाई समृद्ध बनाउन पुस्तकहरू पनि उपलब्ध गराइएको छ।
कार्यक्रमको अध्यक्षता पोखरा पुस्तक तथा स्टेशनरी ब्यवसायी सङ्घका अध्यक्ष गोविन्द गौतमले गर्नुभएको थियो। आफ्नो मन्तव्यमा उहाँले यस्तो सामाजिक पहलले शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, शिक्षा क्षेत्रमा योगदान पुर्याउन यो कार्यले प्रेरणादायक भूमिका खेल्ने पनि बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई सहयोग पुर्याउने यस्ता कार्यक्रमहरूलाई महानगरले सधैं स्वागत गर्ने उल्लेख गर्नुभयो।
विशेष अतिथि पुस्तक तथा स्टेशनरी ब्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलले महासङ्घको उद्देश्य, भूमिका, र समाजमा यसले पुर्याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो। महासङ्घका केन्द्रीय सदस्य सूर्य मोहन आचार्यले शिक्षा क्षेत्रमा यस्ता कार्यक्रमहरूको आवश्यकता र प्रभावबारे आफ्नो विचार व्यक्त गर्नुभयो।
विद्यालयकी प्राचार्य लक्ष्मी खनालले विद्यालयमा श्रमिक परिवारका छोराछोरी अध्ययन गर्ने उल्लेख गर्दै, उनीहरूको आर्थिक अवस्था कमजोर रहेको जानकारी गराउनुभयो। सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा गोपाल गिरि ,नन्दा गुरुङ , छबिलाल आचार्य लागायत ले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी सङ्घका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा सङ्घका सचिव राम सुवेदीले सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएको थियो।
यस कार्यले समाजमा शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। विद्यार्थीहरूको शैक्षिक विकास र पुस्तकालय समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने पोखरा पुस्तक तथा स्टेशनरी सङ्घको यो प्रयास प्रशंसनीय भएको छ।











