उदितनारायण झा फेरि विवादमा: पूर्वपत्नीले भरणपोषणको मुद्दा हालेपछि अदालतमा बयान
  • प्रमुख खबर

पोखरा/ चर्चित गायक उदितनारायण झा पुनः विवादमा तानिएका छन्। केही साताअघि कन्सर्टमा एक युवती फ्यानलाई चुम्बन गरेपछि आलोचित बनेका उनी, यसपटक पारिवारिक कानुनी झमेलामा परेका छन्।

उनकी जेठी पत्नी रञ्जना झाले भरणपोषणको माग गर्दै अदालतमा मुद्दा हालेकी छन्। उनले उदितले आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप लगाएकी छन्।

शुक्रबार सुपौल फ्यामिली कोर्टमा उपस्थित उदितनारायणले कुनै पनि सम्झौतामा सहमत हुन अस्वीकार गरे। उदितले अदालतमा बयान दिँदै रञ्जना अहिले पनि आफूबाट आर्थिक सहायता लिइरहेको दाबी गरे।

सन् १९८४ मा विवाह गरेका उदित र रञ्जनाबीच वर्षौंदेखि विवाद चलिरहेको छ। २००६ मा पनि रञ्जनाले महिला आयोगमा उजुरी दिएकी थिइन्, जहाँ उदितले केही सम्पत्ति हस्तान्तरण गर्ने वाचा गरेका थिए, तर रञ्जनाका अनुसार त्यो पूर्ण रूपमा पूरा भएन।

उदितले रञ्जनालाई महिनामा २१ हजार रुपैयाँ भरणपोषण रकम दिने गरेका छन्। साथै, उनले खेती गर्न खेत, एक घर, र बहुमूल्य गहना पनि दिएका थिए। तर, रञ्जनाले ती बेचिसकेको आरोप लागेको छ।

रञ्जनाले आफ्नो वकिलमार्फत बुढेसकालमा उदितसँगै बस्ने इच्छा व्यक्त गरेकी छन्। तर, उदितले यो विषयमा कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।

यो मुद्दा बलिउडमा मात्र होइन, नेपाली संगीतप्रेमीहरू माझ पनि चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्