सराङकोटमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज देखि सुरु
  • प्रमुख खबर

पोखरा ।।
महाशिवरात्रीको पावन अवसरमा धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज देखि सुरु भएको छ। महायज्ञमा आज फाल्गुन १४ गते बुधबार सुरु भै २१ फागुनसम्म जारी रहनेछ । महायज्ञ पूर्वाङ, बाजागाजा, भजन सहित   विहान ८ बजे पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।

उक्त यात्रा विन्ध्यवासीनी, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत हुनेछ। उत्सवको सम्पूर्ण तयारी पुरा भएको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए। बुधबार यज्ञमा पुग्ने सम्पूर्ण भक्तजनमा लागि केबलकारमा आवातजावत निःशुल्क गरिएको थियो ।

त्यस्तै ३५ वटा बसलाई पनि तयारी अवस्थामा राखिएको आयोजकको भनाई छ।यज्ञ स्थल पुग्ने सबै भक्तजनलाई प्रसादको व्यवस्था मिलाएको छ । महाउत्सव अन्र्तगत शनिबारदेखि त्यहाँ प्राणप्रतिष्ठा भइरहेको छ। केबलकारले घण्टामा ६ सय जनालाई सराङकोट आवतजावत गराउने क्षमता राख्दछ । वडामा रहेका कुल ३४ आमा समूह, २८ टोलविकास संस्था, ११ युवा क्लव लगायत पोखरेली संघसंस्था पनि परिचालित हुँदै भएको अध्यक्ष जिसीले भनेः महाउत्सव सोचेभन्दा पनि बढी सफल हुने विश्वास छ । जिसीले महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि सुनाए। महाउत्सव समग्र पोखरेलीको प्रतिष्ठासँग जोडिएको पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिम्सिनाको भनाई छ ।हामी उत्सव मनाउन आतुर छौँ ।उत्सवको पहिलो दिन बुधबार करिव ५ हजार पोखरेलीले सराङकोट क्षेत्रको अवलोकन गर्ने अपेक्षा छ।

उनका अनुसार कार्यक्रमकै बीच युद्ध कलासँग सम्बन्धित सराङ खेलको प्रदर्शन पनि गरिनेछ। वडा भित्रका सम्पूर्ण टोलविकास संस्था, अन्य विभिन्न संघ संस्था, क्लव, आमा समूह सबै पूर्ण तयारी अवस्थामा छन् ।सरोकारवाला सबैलाई पत्राचार, फोन एवम् प्रत्यक्ष भेटघाट भइसकेको छ, वडावासीहरु कहिले महाउत्सव सुरु होला भनेर बेग्र प्रतीक्षामा बसिरहनुभएको छ, त्यसकारण पनि उत्सव सफल हुन्छ अध्यक्ष तिमिल्सीनाले भने। सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन्।

ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । महाउत्सवमा भागवत् भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन् ।त्यस अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृतन गरिनेछ । यज्ञसँगै धार्मिक तथा पर्यटनको सम्मिश्रण हुँदै सराङकोट विश्वबजारमा अझ बढी लोकप्रिय बन्ने प्रचारप्रसार संयोजक कृष्ण थापाले सुनाए । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्