पोखरा/ पोखरामा अन्तर्राष्ट्रिय स्तरको दुई ठूला रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ का अडिसन आउँदो फागुन १६ र १७ गते सम्पन्न हुने भएका छन्। गण्डकी प्रदेशका प्रतिभाशाली गायन र नृत्य कलाकारहरुलाई समेट्ने गरी पोखरा बहुमुखी क्याम्पसमा अडिसनको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाली प्रतिभाहरुलाई पहिचान गर्दै अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यले इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले यी रियालिटी शोको आयोजना गर्दै आएको छ। काठमाडौंमा हुने ग्रान्ड फिनालेमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का विजेताले जनही १ करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः २५ लाख र १० लाख नगद पुरस्कार पाउनेछन्।
गण्डकी प्रदेशका प्रमुख तथा गायक राजेश बर्देवाले पोखरामा हुने अडिसनका लागि विद्यालय, क्याम्पस, संस्थाहरुमा प्रचार-प्रसार गरिसकिएको जानकारी दिए। फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई नेपाली कलासंस्कृतिसँग जोड्ने प्रयासस्वरूप यो शो सञ्चालन गरिएको बताए।
प्रतियोगितामा भाग लिन चाहनेले www.intrafoundations.org मार्फत आवेदन दिन सक्नेछन्। फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार यो रियालिटी शो नेपाली कला, संस्कृति, र भाषालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने महत्वपूर्ण अवसर हो।
यस सिजनका लागि नेपालभित्र पोखरा, काठमाडौं, विर्तामोड, र नेपालगञ्जमा अडिसन हुनेछन् भने अन्तर्राष्ट्रिय अडिसन बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, सिड्नी, सिलिगुरी, र मुम्बईमा आयोजना गरिनेछ।
सन् २०२३ मा पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको यस शोको दोस्रो सिजनलाई अझ भव्य बनाउन तयारी थालिएको आयोजकले जनाएको छ।