बगाले थापा क्षेत्री कुल संरक्षण समिति पोखरा १६ को शुभकामना आदानप्रदान भित्ते पात्रो वितरण साथै सम्मान कार्यक्रम सम्पन्न
  • संजय थापा

पोखरा ।।

बगाले थापा क्षेत्री कुल संरक्षण समिति पोखरा १६ ले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो वितरण, शुभकामना आदानप्रदान साथै सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सांसद साथै पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्णबहादुर थापा रहेका थिए । त्यसैगरी विशेष अतिथिमा बगाले थापा क्षेत्री कास्की जिल्ला समितिका उपाध्यक्ष धुर्वराज थापा बिन्धवासिनी माध्यमिक विद्यालय पोखरा १६ का व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय पोखरा १६ व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापा रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य बगाले थापा क्षेत्री कास्की जिल्लाका अध्यक्ष ध्रुवराज थापा, पूर्व सल्लाहकार लोकबहादुर थापा र बगाले थापा क्षेत्री कुल समिति पोखरा १६ का उपाध्यक्ष गोविन्दबहादुर थापाले राखेका थिए । कार्यक्रममा बोल्दै पूर्व मेयर कृष्णबहादुर थापाले बगाले थापाहरु देशभर छरिएर रहे पनि सबै एकजुट भएर सक्रिय भूमिका निभाउँदै अगाडि बढेमा जस्तोसुकै अवस्थामा पनि सफल हुन सकिने साथै हरेक ठाउँमा आफै अग्रसर भई नेतृत्व लिन सक्ने, हर कदमहरू सहजै रुपमा अगाडि बढ्न सक्ने जिकिर गरे । साथै थापा परिवारमा जुनसुकै बेला पनि साथ र सहयोग गर्ने बताए ।

त्यसैगरी बगाले थापा क्षेत्री कुल संरक्षण समिति पोखरा १६ का उपाध्यक्ष गोविन्द बहादुर थापाले पोखरा १६ को कुल मन्दिरका लागि जग्गा अपुग रहेको हुँदा अहिले आएर सम्पूर्ण थापा परिवारहरूले आफूले सकेको सहयोग गर्दै आएको रकम रु. ६३ लाख ७० हजारमा कुल मन्दिर परिसर नजिकै जग्गा खरिद गरेको बताए । अझै पनि खरिद गरेका जग्गामा भौतिक निर्माणहरू गर्नु परेको हुँदा र आर्थिक पाटो कमजोर रहेको हुँदा आफूले सकेको सहयोग गरिदिनुहुन अनुरोध गरे ।

बिन्दवासिनी माध्यमिक विद्यालय पोखरा १६ का व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष सन्दीप थापा र इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय पोखरा १६ व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष दिलबहादुर थापा लाई सम्मान गरिएको थियो । कार्यक्रममा थापा बन्धुहरू को उल्लेखनीय उपस्थित रहेको थियो। बगाले थापा क्षेत्री कुल संरक्षण समिति पोखरा १६ का अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुल संरक्षणका सचिव चित्र थापाले सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्