पोखरा ।।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार (आज) दिउँसो परेको चट्याङले संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राईको मृत्यु भएको हो।
उनीहरू त्यहाँ आजबाट नै सुरुभएको पदमार्ग बनाउने काम गर्दैगर्दा दिउँसो करिब १ बजेको समयमा चट्याङ परेको थियो । उक्त चट्याङले उनीहरूको ज्यान गएको हो।
उनीहरू करिब ३८ सय मिटर उचाइमा पदमार्ग (बाटो) बनाउने काम गर्ने क्रममा चट्याङ परेको र सोही चट्याङले दुवै जनाको ज्यान गएको डीएसपी शर्माले बताए ।
उनका अनुसार सो पदमार्ग निर्माण कार्यमा ९ जना मजदुर रहेकामा अन्य ७ जना भने सकुशल रहेको बताए।
सो घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल दूरीमा पर्छ। उक्त स्थानमा नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम भइरहेको छ।













