पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले बुझायो प्रतिवेदन
  • प्रमुख खबर

Oplus_131072

काठ्माण्डौ।।

चिनियाँ लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
निर्माणका क्रममा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।

संसदीय छानविन उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।

उक्त लेखा समितिले गत वर्षको असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिनको लागि एमालेका सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको थियो  ।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा उपसमिति गठन गरिएको थियो ।

उक्त समितिको सदस्यहरूमा अर्जुननरसिंह केसी, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, गोकुलप्रसाद बाँस्कोटा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव, रुक्मणि राना र लेखनाथ दाहाल रहेका थिए ।

संयोजक लिङदेनको उपसमितिले विमानस्थलको स्थलगत अनुगमन, अन्तरक्रिया, छलफल र अध्ययन गरी ३८ पृष्ठको लामो प्रतिवेदन पोखरेललाई बुझाएको हो ।

सो प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको उल्लेख गरिएको छ। उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्