पोखरा जेसिजको “जेसिज सप्ताहन्त-२०२५” विभिन्न कार्यक्रम गरी मनाइँदै
  • संजय थापा

पोखरा ।।

पोखरा जेसीजको आयोजनामा “जेसिज सप्ताहन्त-२०२५” हुने भएको छ। उक्त कार्यक्रम जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म हुने बिहीबार(आज) पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।

यस वर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्तर्गत वृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने जेसिआई पोखराका अध्यक्ष जेसी भाइराज राना मगरले जानकरी दिएका छन् ।

उक्त सप्ताहन्त कार्यक्रम अन्तर्गत पहिलो दिन जेठ ३ गते शनिबार माछापुच्छ्रे गाउँपालिकाको भेंडाबारी स्वास्थ्य चौकीमा निःशुल्क बृहत आँखा परिक्षण शिविर हुनेछ ।

हिमालय आँखा अस्पतालसँगको सहकार्यमा हुने सो शिविरमा भेंडाबारी, ल्वाङघलेल, रिभान, लाहाचोक लगायतका क्षेत्रका बासिन्दालाई लक्षित गरेर गर्न लागिएको अध्यक्ष राना मगरले बताए ।

विषेशगरी स्वास्थ्य समाजका लागि स्वास्थ्य जीवन सम्बन्धी सचेतना जगाउने उद्देश्यले सहित उक्त शिविर आयोजना गरिएको र त्यस ठाउँका करिब २ सय ५० जना स्थानीयहरू यस शिविरबाट लाभान्वित हुने पनि उनले बताए।

सप्ताहको दोस्रो दिन पोखरा-१७ का टोल विकास संस्था, आमा समुहदेखि लिएर युवा क्लबलाई निर्णय पुस्तिका (माईनुट) लेखन तथा वित्तीय साक्षरता तालिम आयोजना गरिनेछ ।

सो कार्यक्रम पोखरा–१७ र ग्लोबल आईएमई बैंक लिमिटेडसँगको सहकार्यमा हुने र करिब ५० जना लाभान्वित हुने आयोजकले जनाएको छ।

यस्तै सप्ताहको तेस्रो दिन अन्नपूर्ण गाउँपालिकाको प्रगतिशिल मा.वि.मा सोहि विद्यालय अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीदेखि लिएर खेलकुद तथा पोषाक (टिसर्ट) वितरण गरिने जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा हुने सो कार्यक्रमको उद्देश्य विद्यार्थीहरुलाई थप रचनात्मक एंव सृजनात्मक बनाउने रहेको र विद्यालयको १ सय ८० जना विद्यार्थीहरु लाभान्वित हुने पनि जेसिजका अध्यक्ष रानाले बताए।

त्यस्तै, सप्ताहको चौथाे अर्थात अन्तिम दिन “आर्थिक विकास समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौति”का विषयमा अन्तरकृया कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा हुनेछ ।

सन् १९१० मा अमेरिकाको सेन्ट तुइस शहरमा हेतरी गिसेनवियर द्वारा स्थापना भएको जूनियर च्याम्बर इन्टरनेशनल (JCI) को भागका रुपमा, नेपालमा सन् १९६५ मा स्थापना भएको नेपाल जेसीजको शाखाका रुपमा, पोखरा शाखाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नै परिचय बनाएको छ।

वर्तमानमा, विश्वका १ सय २५ राष्ट्रहरूमा २ लाख भन्दा बढी सदस्यसहित, नेपालमा १ सय ८८ शाखा सहित, पोखरा शाखाले हजारौं युवाहरुलाई समाजमा नेतृत्व र सेवा गर्ने अवसर प्रदान गरेको छ।

पोखरा जेसीज पोखरा-११, रानीपौवामा सन् १९७५ मा स्थापित भएको हो । यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै युवाहरुलाई लक्षित गर्दै विभिन्न तालिम र अभ्यासको माध्यबाट व्यक्तित्व र नेतृत्व विकासका कार्यमा सकृय भूमिका निर्वाह गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्