पोखरा ।।
पोखरा लेडी जेसीजले यस वर्ष पनि आफ्नो वार्षिक कार्यक्रम, “जेसीज सप्ताह” आयोजना गर्न लागेको छ ।
यही जेठ १० देखि १६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य समाज र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने रहेको छ।
सोही उद्देश्य अनुरुप नै यस वर्षको नारा समेत “समाज र सामाजिक रुपान्तरणमा युवा अभियान” तय गर्दै पोखरा लेडी जेसीजले आफ्नो जेसीज सप्ताह कार्यक्रम गर्न लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
एक हप्तासम्म सञ्चालन हुने उक्त सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि इपिएस तालिमको आयोजना गरिएको कार्यक्रमका मूल आयोजक समितिकि संयोजक नन्द कुमारी ढुंगानाले जानकारी दिएकी छन्।
उनका अनुसार सोही कार्यक्रम अन्तर्गत दोस्रो दिन जेठ ११ गते वातावरण संरक्षणका लागि पोखरा-१० को वडा कार्यालयमा कौशी खेती तथा फोहोर व्यवस्थापन तालिमसँगै मल वितरण कार्यक्रम राखिएको बताइन् ।
जेठ १२ तेस्रो दिन अन्नपूर्ण गाउँपालिकामा रहेका १७ वटा माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका छात्रा र छात्रबीच पालिका स्तरीय वृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको पनि संयोजक ढुंगानाले बताइन्।
त्यस्तै यसै जेसिज सप्ताह कार्यक्रम अन्तर्गत जेठ १३ गते पोखरा -३, नदिपुरका एकल महिलाहरुलाई आधारभूत कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ।
कार्यक्रमको पाँचौं दिन जेठ १४ गते जेष्ठ नागरिकसँग जेसिस युवा कार्यक्रम हुनेछ। यो कार्यक्रम भने पोखरा लेडी जेसिजले पोखरा -२०, भलाममा गर्ने बताएको छ।
जेठ १५ गते सप्ताहको छैटौं दिन पोखरा -२२ पुम्दीमा त्यहाँका महिला दिदीबहिनीहरुका लागि स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
कार्यक्रमको अन्तिम दिन जेठ १६ गते लेकसाइडमा अवस्थित केदारेश्वर मन्दिर परिसरका बटुवाहरुका लागि खाना तथा खाध्यान्न वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ।
यस्तै संस्थाका अध्यक्ष अनिता थापा खड्काले एक हप्तासम्म सञ्चालन हुने विभिन्न कार्यक्रमबाट धेरै जना सम्बन्धित व्यक्तिहरु लाभान्वित हुनेमा आफुहरु विश्वस्त रहेकाे बताइन्। उनले यस संस्थाको पहलमा समुदायमा सकारात्मक परिवर्तन ल्याउने र समाजलाई अझ सशक्त बनाउन मद्दत पुर्याउने काम भएको समेत बताइन् ।
अध्यक्ष खड्काले यस्ता कार्यक्रमहरुले सामाजिक काममा
युवाहरुको सक्रियता र जिम्मेवारी बढ्ने बताउँदै समाजको समग्र विकासमा योगदान पुर्याउने समेत बताइन् ।
उनले पोखरा लेडी जेसिजले आफ्नो वार्षिक कार्यक्रम, “जेसीज सप्ताह” यसरी नै विभिन्न सामाजिक कामहरू गर्दै मनाउँदै आएको पनि स्पष्ट पारिन् ।
यस पोखरा लेडी जेसिज संस्था युवाहरुको जोश र जाँगरलाई समेट्दै १९८९ मा १८ देखि ४० वर्ष भित्रका क्रियाशील र कर्मठ युवा नारीहरुको शसक्त शाखाको रुपमा स्थापित भएको हो ।
यस संस्थाले युवा, महिला, विद्यार्थी, ज्येष्ठ नागरिक, एकल महिला र कृषकहरुमा सामाजिक जागरूकता फैलाउने र उनीहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिने जस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको छ।












