पोखरा/भारतमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ। पछिल्लो तथ्यांकअनुसार, मङ्गलबार मात्रै देशभर ३ सय नयाँ सङ्क्रमण केसहरू पुष्टि भएका छन्। तीमध्ये सबैभन्दा धेरै केस गुजरात (१०८) र महाराष्ट्र (८६) मा भेटिएकको भारतका विभिन्न संचार माध्यमहरूले जनाएका छन्।
यससँगै भारतभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४,३०२ पुगेको छ। हालसम्म २७ वटा राज्य तथा केन्द्रशासित प्रदेशमा कोरोना फैलिसकेको छ भने ९ राज्यहरूमा अहिलेसम्म कुनै सङ्क्रमित भेटिएका छैनन्।
केरला राज्य सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ १,३७३ सक्रिय केस छन्। त्यसपछि महाराष्ट्रमा ५१० सक्रिय केस रहेका छन्।
जनवरीदेखि देखिएको नयाँ भेरियन्टका कारण हालसम्म भारतमा ४४ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ३७ जनाको मृत्यु पछिल्ला पाँच दिनभित्र भएको हो। मङ्गलबार मात्रै महाराष्ट्रमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जससँगै त्यहाँ मृत्यु सङ्ख्या १४ पुगेको छ। दिल्ली, गुजरात र तमिलनाडुमा पनि एक–एक जनाको मृत्यु भएको छ।
हिमाचल प्रदेशमा पहिलोपटक मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि राज्य सरकारले अस्पतालहरूमा मास्क अनिवार्य गरेको छ। उता केरला सरकारले नयाँ गाइडलाइन लागू गर्दै सरकारी तथा निजी अस्पतालहरूमा मोक ड्रिल (पूर्व अभ्यास) गर्न निर्देशन दिएको छ।
स्वास्थ्य विशेषज्ञहरूले पुनः सावधानी अपनाउन आह्वान गरेका छन्, विशेषतः भीडभाड भएका ठाउँमा मास्क लगाउन र हात धोइरहन सुझाव दिँदै आएका छन्।













