“जथाभावी फोहोर अब क्षम्य छैन !”फोहोर फाल्ने युवकलाई रु. ५,००० जरिवाना
  • सन्तोष पराजुली

पोखरा, असार २//
पोखरा महानगरपालिका वडा नं. ११ मा पर्ने गण्डकी अस्पताल पछाडि फोहोर फालेको अभियोगमा एक युवालाई पोखरा महानगरपालिकाले नगद रु. ५,००० जरिवाना गरेको छ।

वडा नं. १० रामघाटस्थित शुसिला केसीको घरमा भाडामा बस्दै आएका कृष्ण भुजेल नामका ती युवकले बिहीबार राति करिब ८:२५ बजे फोहोर ल्याएर अस्पताल क्षेत्रको पछाडिपट्टि फालिरहेको दृश्य त्यहाँ जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको थियो।

सिसीटिभी प्रमाणको आधारमा महानगरपालिकाले उनलाई स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत जथाभावी फोहोर फाल्ने कार्यलाई नगर सरसफाइ नियमविपरीत मानेको भन्दै दण्डस्वरूप जरिवाना लिएको हो।

कारबाहीमा समाजिक अभियन्ता अंशु शेर्पाको प्रत्यक्ष सक्रियता रहेको छ।अंशु शेर्पा सरसफाइ र सार्वजनिक अनुशासनको निम्ति लागिपरेका अभियन्ता हुन्। उनले यसपटक पनि फोहोर व्यवस्थापनमा लापरवाही गर्नेहरूमाथि कारबाही गराउने अभियानमा आफ्नो जिम्मेवारी पूरा गरेका छन्।

महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोर फाल्ने कार्यप्रति कडा निगरानी गर्दै यस्ता कार्य रोक्न आवश्यक कदम चालिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्