पोखरा ।।
भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार र्याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।
पर्यटनको अफसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
विभिन्न ब्राण्डका १५ एस यभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताएका छन्।
पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गरेका थापाका अनुसार भारतीय पर्यटकको टोलीले पोखरा आसपासका पर्यटकीय गन्तव्य क्षेत्रको भ्रमण गरेको बताए ।
उक्त टोलीले बञ्जीजम्प, जीपलाइन, स्वीङ लगायतका गतिविधिका साथै पोखरामा अफरोड कार ड्राइभ सहित ग्यारजाती, मेथलाङ, सेदी लगायतका स्थान पुग्दै त्यसको रोमाञ्चक अनुभव लिएको उनले जानकारी दिए ।
पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाल लगायत संघसंस्थाले सहयोग गरेका थिए ।
पटनाबाट बीरगंज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार र्यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ साहीले बताए ।
पछिल्लो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पनि यात्रा सहज भएको उनको अनुभव छ । अध्यक्ष साही सहित क्लबका सचिव निलमणि कुमार, कोषाध्यक्ष एवम् कार र्याली संयोजक सुमिता साही, उपाध्यक्ष एस के सिंह लगायत सहभागी थिए ।
नेपालको पर्यटन प्रवद्धनमा कार र्याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
बोर्डले यहाँको पर्यटकीय आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उनको भनाइ छ ।
भारतीय पर्यटकको कार र्याली जस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।
“पोखरा सबै मौसम”का लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्धत पुर्याउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताए।









