पोखरा, असार २५ ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै कास्कीका पर्यटकीय गन्तव्यहरुमा जान र आउनको लागि समय सिमा पालना गर्न निर्देशन जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा यही असार २३ गते बसेको बैठकको निर्णय अनुसार असार २५ गतेदेखि लागू हुनेगरी आगामी १५ दिनका लागि यात्रुवाहक सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
तोकिएको स्थानहरूमा अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यात्रु वाहक सवारी साधनहरू मात्र सञ्चालन गर्न पाइने भएको प्रशासनले जनाएको छ । विरेठाँटी–घान्द्रुक, विरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक मार्गमा जानको लागि साँझ ५ः०० बजेभित्र सवारी प्रस्थान गर्नुपर्ने, बिहान ५)०० बजेपछि मात्र फर्कने सवारी छुट्न पाउने, काँहुखोला–ताङतिङ मार्ग तर्फ दिउँसो ४ः३० बजेभित्र गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने भएको छ । त्यसै गरी ताङतिङबाट फर्किने सवारी बिहान ५ः०० बजेपछि मात्र छुट्न पाउने भएको छ ।
प्रशासनले जोखिमपूर्ण स्थानहरूमा यात्रु सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो समयसीमा लागू गरिएको जनाएको छ। यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले केही थप बाढी पहिरोको समस्या भएमा प्रशासन तथा प्रहरीलाई बखर गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखराक्लिक समक्ष बताउनु भयो । सिद्धार्थ राजमार्ग, पृथ्बीराजमार्ग र भूमि शेरचन राजमार्गमा समेत टिम स्ट्याण्ड वाई राखेर कहि कतै पहिरो गएमा उद्धारको लागि टिम तयारी अबस्थामा रहेको उहाँले बताए ।
बैठकमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकाय, यातायात व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो। मनसुन सक्रिय अवस्थामा रहेकाले यात्रु तथा सवारीसाधनमा सम्भावित क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।















