श्रावण ०१,पोखरा ।।
साहित्यको उर्वरभुमि पोखराको बाटुलेचौरमा शुक्ला साहित्य प्रतिष्ठानले जनकविकेशरी धर्मराज थापाको १०१ औं जन्म जयन्तीको अवसरमा थापालाई स्मरण गर्दै कविता वाचन कार्यक्रम मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेल रहेकी थिन् । भुजेलले पोखराको बाटुलेचौर साहित्यको भूमि रहेको हुँदा जनकविकेशरी धर्मराज थापाले देशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा लोकगीत संगीत र कविता मार्फत नै एउटा अब्बल खम्बाको रुपमा उभिएर इतिहास कायम गरेको बताइन् । भने कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वार्ड नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिना र पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे रहेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेल ।।
कार्यक्रममा बोल्दै वडा नं १६ का अध्यक्ष तिमिल्सिनाले प्रतिष्ठानका संस्थापक धर्मराज थापाको जन्मजयन्ती शुक्ला साहित्य प्रतिष्ठानले मनाउन लागेकोमा खुसी व्यक्त गर्दै जनकविकेशरीलाई आफ्नै जन्मथलोले राम्रोसँग चिन्न नसकेको र अब यसलाई प्रचारप्रसार गरी अगाडि बढाउँदै अब छिटै नै पोखराको महेन्द्र गुफामा थापाको शालिक निर्माण गरिने यसमा शुक्ला साहित्य प्रतिष्ठान परिवारले पनि साथ र सहयोग दिनेमा विश्वास व्यक्त गरे। त्यसैगरी वडा नम्बर १९ का अध्यक्ष पाण्डेले हामी सबैले साहित्य क्षेत्रमा साथ सहयोग दिन आवश्यक रहेको साथै धर्मराज थापाको शालिक निर्माणमा आफूले सकेको सहयोग गर्ने बताए।

कार्यक्रममा शुभकामना मन्तव्य शुक्ला साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गीता भट्टराईले राखेकी थिइन्। भने साहित्यकार एवं पत्रकार असफल गौतमले जनकवि केशरीको जीवनी प्रस्तुत गर्दै थापाले गाउँ गाउँमा गएर जनताका दुःख सुखका शब्दहरूलाई टपक्कै टिपी गीत संगीत र साहित्यको क्षेत्रबाट वेदनाहरु पोख्ने गरेको बताए । गौतमले थापाको कविता-
“हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजा खैँचडी झम्केर नाच मुजुरा”
कविताका दुई लाइन वाचन गर्दै कार्यक्रमलाई थप उत्साहित बनाएका थिए। कार्यक्रममा कवि एवं सल्लाहकार शिव त्रिपाठी,प्रतिविम्ब वाङ्मय प्रतिष्ठानका अध्यक्ष शिवहरि आचार्य, शिक्षासेवी यमनकाजी गुरुङ, पुर्व जनप्रतिनिधि कोमलप्रसाद बास्तोला, विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, कार्यक्रम संयोजक हरि बहादुर थापा लगायतले जनकविकेशरी धर्मराज थापालाई स्मरण गर्दै कवितावाचन गरेका थिए।
त्यस्तै कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, पुर्व सदस्य डोब बहादुर केसी लगायतले जनकवि केशरी धर्मराज थापाका कालजयी लोक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको शुक्लाका सह-सचिव संजय थापाले जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले गरेका थिए।










