पोखराको काहुँ खोलामा बाढीको कहर: घर टहरामा क्षति, दुई घर जोखिममा,पर्वतमा दुई जना वेपत्ता
  • प्रमुख खबर

श्रावण ०४,पोखरा ।।

गएराति देखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा क्षति पुगेको छ। वर्षाका कारण पोखरा १३ काहुँ खोला क्षेत्रको बाँध फुट्दा केही घरमा क्षति पुगेको छ। काहुँ खोलाको बाँध फुटेर बाढी ढल्के पुल वरिपरिका बस्तीमा पस्दा घरटहरा डुबानमा परेका छन् भने दुईवटा घर उच्च जोखिममा परेको वडाध्यक्ष किरण वरालले जानकारी दिए।

तस्बिर – पोखरा १३ काहुँ खोला ।।

वडा अध्यक्ष बरालका अनुसार, लगातारको वर्षाले खोलामा पानीको सतह ह्वात्तै बढेको र खोलाको पानी दुबै किनाराबाट बग्नु पर्ने भए पनि बाँध फुटेपछि एकातिर मात्र बग्दा क्षति बढी भएको हो। “रातिदेखि नै डोजर र शसस्त्र प्रहरीको टोली परिचालन गरेर क्षति नियन्त्रणको प्रयास भइरहेको छ,” उनले बताए।

बरालका अनुसार बाढीले मानवीय क्षति नभए पनि धेरै घरहरूमा पानी पसिसकेको छ। स्थानीय बासिन्दा त्रसित छन् भने प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

वडा कार्यालय, सुरक्षाकर्मी तथा स्थानीय स्वयंसेवकहरू संयुक्त रूपमा उद्धार र क्षति न्यूनीकरणमा जुटिरहेका छन्। बाढीका कारण सडक तथा ढल निकास प्रणाली पनि अवरुद्ध भएको जनाइएको छ।गए रातीको बाढीले पोखरा वडा नम्बर १६ र २० का विभिन्न भागमा पनि क्षति पुगेको छ । १६ मा रहेको ढाँडखोलाले तल्लो बस्तीमा र चिसेखोलाले पानीका मुहानमा क्षति पुर्याएको स्थानिय जितबहादुर बस्नेतले जानकारी दिए।यस्तै पोखरा २० भलाममा सूर्य बास्तोलाको घर पहिरोमा पुरिएको छ ।७ कोठाको ब्लकको घर पहिरोले पुर्दा ३ कोठा पूर्ण रूपमा पुरिएको र कोठा पुरिदा नगद, सिक्री र अरू सामान क्षति भएको प्रहरीले जनाएको छ ।

तस्बिर – १६ मा रहेको ढाँडखोला ।।

यस्तै पर्वतको मोदी गाउँपालिका–३ लाङ्दिमा घर पुरिँदा दुई जना बेपत्ता भएका छन्। रातिदेखि लगातार परिरहेको अविरल वर्षाका कारण लाङ्दिमा ठूलो पहिरो जाँदा छविलाल विकको घर पूर्णरूपमा पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका छन्।

तस्बिर – पर्वतको मोदी गाउँपालिका–३ लाङ्दि ।।

घटनामा विकका बुहारी भने सकुशल उद्धार गरिएको जनाईएको छ। बेपत्ता दुवै जनाको शव भेटिएको र कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र शव निकाल्ने कार्य भइरहेको छ ।

मौसम विज्ञान विभागले थप भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्क रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्