पोखरा//
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा खानेपानी र सिँचाइको अभाव समाधान गर्न तत्काल ५०० डिप बोरिङ जडान गरिने घोषणा गरेका छन्।
शुक्रबार महोत्तरीको मटिहानी नगरपालिका–६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेसमा पानीको गम्भीर संकट रहेको उल्लेख गर्दै सरकारको पहिलो चरणमै डिप बोरिङमार्फत समस्या समाधान थालिने बताए।
उनका अनुसार, सिँचाइ र खानेपानी अभावले प्रभावित मधेस प्रदेशलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ र दीर्घकालीन योजना पनि तयारीमा रहेको छ। हवाई अवलोकनका क्रममा अधिकांश क्षेत्र सुक्खाग्रस्त रहेको देखिएको उल्लेख गर्दै उनले आठै जिल्लामा पानीको पहुँच पुर्याउन विशेष कार्यक्रम लागू गरिने जिकिर गरे।
मन्त्रिपरिषद्को साउन ७ गतेको निर्णयअनुसार मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा गरिएको छ। प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त क्षेत्रमा तत्काल राहत र दीर्घकालीन समाधानका योजना अघि बढाइने आश्वासन दिए।












