श्रावण १२, पोखरा ।।
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय भएको छ । गएरातिदेखि देशभर मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि राति हल्का पानी परेको छ ।
आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक-दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












