पोखरा//
लोकप्रिय टेलिभिजन हाँस्य शो ‘कमेडी दरबार’ को टिम अब फिल्म निर्माणमा प्रवेश गर्ने भएको छ। सोमबार ‘क का कि की’ नामक चलचित्रको घोषणा गर्दै टिमले आफ्नो पहिलो फिल्मी यात्रा सुरु गरेको हो।
सार्वजनिक गरिएको पोस्टरमा वरिष्ठ कलाकार गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा र महेश त्रिपाठीलाई प्रस्तुत गरिएको छ। यी कलाकारले फिल्ममा शीर्ष भूमिकामा देखिनेछन्। साथै, शोका कमेडियनहरू मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीले पनि फिल्ममा अभिनय गर्नेछन्।
पोस्टर र कलाकारहरूको प्रस्तुतिले गर्दा यो चलचित्र हास्यप्रधान हुने अनुमान गरिएको छ। फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन्। पटकथा अग्रवालले लेखेका हुन् भने कथामा विकास अर्याल र सरोज भण्डारीको समेत सहकार्य रहनेछ।
सुदीप बरालको छायांकन रहने चलचित्रको थिम पोस्टर रोयल भीमसेनले तयार पारेका छन्। फिल्मको वितरण श्री वेंकेटेश, अन्तर्राष्ट्रिय वितरण सेभेन सिज र डिजिटल अधिकार ओएसआर डिजिटलले लिनेछन्।
निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टीकाको भोलीपल्टबाट सुरु हुनेछ। यो ‘कमेडी दरबार’ टिमको पहिलो फिल्मी प्रोजेक्ट मानिएको छ।













