श्रावण १७,पोखरा ।।
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले मानव सेवा आश्रम, हेम्जालाई आर्थिक सहयोग गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शनिबार बिहान हेम्जा पुगेर नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए । सो रकम क्लबका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सुशील बस्नेत, अध्यक्ष मोहन थापा, मानार्थ सदस्य बेनीबहादुर बस्नेतले आश्रमका व्यवस्थापक सम्झना बर्तौलालाई हस्तान्तरण गरे ।
सो अवसरमा क्लबका अध्यक्ष मोहन थापाले राज्यले गर्नुपर्ने दायित्व नागरिक स्तरबाट संचालन भएको आश्रमले गरिरहेकोमा प्रशंसा गर्दै, सबैको सहयोगबाट नै आश्रम संचालनमा सहज हुने बताए । व्यवस्थापक बर्तौलाले विभिन्न सामाजिक संघ, संस्था र सेवा भावले नै आश्रम संचालन भएको बताइन् ।
सोही अवसरमा आश्रम संचालन सहयोगार्थ क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेतले रु १० हजार, सल्लाहकार खिमलाल अधिकारीले रु १० हजार, सल्लाहकार कुमार श्रेष्ठले रु ५ हजार, हिमालय कृषि सहकारीका सञ्चालक समिति सदस्य झलक थापा मगरले रु ५ हजार, बाटुलेचौर हिमालय सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले २ हजार ५ सय, इन्दु भट्टराईले २ हजार, इन्दिरा पोखरेल तिमिल्सिनाले २ हजार, मीना गुरुङले २ हजार, शारदा तिमिल्सिना, रुद्रबहादुर थापा, बुद्धिबहादुर बानियाँ, पुष्पराज अधिकारी, रामनाथ पौडेल लगायतले आर्थिक सहयोग प्रदान गरे । आश्रमको हेम्जा शाखामा १ सय ८० जना पुरुष तथा बालक र छोरेपाटन शाखामा ९३ जना असहाय महिला आश्रित छन् । क्लबले आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सराङकोट धार्मिक क्षेत्रको समेत अवलोकन गर्यो ।












