श्रावण २०, पोखरा ।।
पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको चेकजाँमा आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे गरेर चलाइरहेको फेला पारेको हो ।
पोखराको चाइनपुल नजिक गरिएको मापसे चेकजाँचमा ३ जना र ड्यामसाइडमा गरिएको चेकजाँचमा ३ जना गरेर ६ जना चालकले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सोभा पाण्डेले जानकारी दिइन् ।
चाइना पुल नजिक ३० जना चालकको मापसे चेक गर्दा तीन जना र ड्यामसाइडमा पनि ३० जना चालकको मापसे चेकजाँच गर्दा तीन जना गरेर ६ जना चालकले मादकपदार्थ सेवन गरेर स्कुलका सवारी चलाएको पाइएको हो । मापसे सेवन गरेर चलाएका स्कुल बसलाई सम्बन्धित विद्यालयलाई नै अर्को चालकको व्यवस्था गर्न लगाएर गन्तव्यमा पठाइएको थियो ।
मादक पदार्थ सेवान गरेर स्कुल बस चलाउने चालक विरुद्ध अनुसन्धान भइरहेको र मुद्दासमेत चल्न सक्ने उनले बताइन् । कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने बताएको छ ।












