ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी पुरा
  • प्रमुख खबर

भाद्र ०८, पोखरा ।।

पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी पुरा भएको छ । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा वडा कार्यालय, पोखरा १६ को समन्वयमा, तीज मेला व्यवस्थापन समितिकाे आयोजनामा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको आन्तरिक बाहेकका अन्य तयारी पुरा भएको संयोजक, वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिन् ।

मेलाको सोमबार पोखरा महानगरपालिकाका उप मेयर मञ्जु कुमारी गुरुङले उद्घाटन गर्ने र मंगलबार मेलाको समापन गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मेलाका प्रचार प्रसार संयोजक मोहन थापाले जानकारी दिन् ।

मेलाको पहिलो दिन सोमबार विहान महेन्द्र गुफा देखि मैदानसम्म प्रभातफेरी र दिउँसो विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता हुने र करिव १५ वटा विद्यालयले सहभागिता जनाउने बताए। मंगलबार मेलाको मुख्य आकर्षणको रुपमा समुहगत तीज गीत प्रस्तुती रहने र करिव २० वटा आमा समुहले समुहगत रुपमा तीज गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ। दुवै दिन ख्याति प्राप्त लोक दोहोरी गायक रामजी पौडेल, कृष्ण सुवेदीका साथै सन्ध्या बिसी र गणेश ढकालको सांस्कृतिक प्रस्तुति रहने सहसंयोजक मञ्जु नेपालीले जानकारी दिए । मेलालाई व्यवस्थित र भव्य बनाउन मुल समिति र विभिन्न ८ वटा उपसमिति क्रियाशील बनेका छन्।

वडा कार्यालय संरक्षक रहेको सो मेला अघिल्लो वर्ष पनि नागरिक स्तरबाटै भएको थियो। विसं १५२५ भन्दा अगावै देखि सेती गङ्गा स्नान गरेर फर्किएका लामाचौर, बाटुलेचौर, भलाम , घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला क्षेत्रका महिलाहरु बाटुलेचौरमा जम्मा भएर तीज गीत गाउने प्रचलन रहेको जानकारहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्