भाद्र ०९, पोखरा ।।
पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला २०८२ सोमबार देखि शुरू भएको छ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा वडा कार्यालय, पोखरा १६ को समन्वयमा, तीज मेला व्यवस्थापन समितिकाे आयोजनामा भदौ १० गतेसम्म स्थानीय बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको आज पोखरा महानगरपालिकाका उप मेयर मञ्जु कुमारी गुरुङले उद्घाटन गर्नु हुने छ। उद्घाटन अघि विहान महेन्द्र गुफा देखि मैदानसम्म प्रभातफेरी सहित २५ वर्ष उमेर माथिका महिला दौड सम्पन्न भएको छ। ४० जना महिला सहभागि दौडमा विष्णु खनालले ५ मिनेट ३ सेकेण्डमा दुरी पुरा गरी प्रथम भईन। त्यस्तै सम्झना गुरुङ द्वितीय,सविना बास्तोला तृतीय र बबिता गुरुङ, लक्ष्मी गुरुङ, चोखोमाया गुरुङ उत्कृष्ट भएको कार्यक्रम संयोजक उदिम बहादुर गुरुङले जानकारी दिए। दौडमा सहभागी ७५ वर्षिया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन स्वरुप सम्मान गरिएको छ ।

यस अघि दौडको उद्घाटन साविकको अर्मला गाविसका अध्यक्ष एवं पुरोहित कुलप्रसाद भट्टराईले गरे । त्यस अवसरमा तीजको स्वागत स्वरुप महेन्द्र गुफा देखि मैदानसम्म सडकपेटी र घर घरमा फुलको घडा राखेर स्वागत गरिएको प्रचार प्रसार संयोजक मोहन थापाले बताए। सो कार्यका लागि मैदान आमा समुह, जनजागरण आमा समुह र मैदान टोल विकास संस्थाले सहजीकरण गरेका थिए। मेलामा दिउँसो विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता हुने र मंगलबार मेलाको मुख्य आकर्षणको रुपमा समुहगत तीज गीत प्रस्तुती रहने छ ।

मेलाका दुवै दिन ख्याति प्राप्त लोक दोहोरी गायक रामजी पौडेल, कृष्ण सुवेदीका साथै सन्ध्या बिसी र गणेश ढकालको सांस्कृतिक प्रस्तुति रहने बताईएको छ।












