लामाचौर तीज महोत्सव सम्पन्न, पुरुष भलिबलकाे उपाधि ढुङ्गे देउरालीलाई, छात्रा भलिबलमा शान्त मा.वि बिजयी
  • प्रमुख खबर

भााद्र १०, पोखरा ।।

पोखराको लामाचौरमा भएको तीज महोत्सव २०८२ मंगलबार सम्पन्न भएको छ। नव आदर्श सामुदायिक विकास समाजको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित २७ औं संस्करणको तीज महोत्सवको अन्तिम दिन पनि उल्लेख मात्रमा दर्शकको सहभागिता रहेको समाजले जनाएको छ। ३ दिन सम्म संचालन भएको महोत्सवको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समापन गरे । समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरा प्राकृतिक रूपमा मात्र नभएर कला, साहित्य र संस्कृतिको क्षेत्रमा समेत सुन्दर रहेको बताए। उनले कला र संस्कृतिको विकास एवं संरक्षणमा नव आदर्श सामुदायिक विकास समाजले खेलेको भुमिकाको प्रशंसा गरे।

कार्यक्रममा मन्त्री थापाले तीज गीत प्रतियोगितामा प्रथम भएको घाटीपाटनको महिला सामुदायिक विकास समिति, द्वितीय भएको पोखरा १९ को सिर्जना आमा समुह, तृतीय हुन सफल जाल्पादेवी सामुदायिक महिला विकास समिति र सान्त्वना भएका गैराबारी कोपिला आमा समुह, सामुदायिक स्वास्थ्य स्वयं सेविका समुह र महिला समाज कल्याण आमा समुहलाई नगद सहित प्रमाणपत्र प्रदान गरे । विजेताले जनही ५० हजार १ सय ११, ३० हजार १ सय ११, २० हजार १ सय ११ र सान्त्वना सबैले १० हजार १ सय ११ तथा उत्कृष्ट भेषभुषा तर्फ श्री महिला विकास बहुउद्देश्यीय समुहले नगद ५ हजार १ सय ११ प्राप्त गरेको समाजका राजु भण्डारीले जानकारी दिए। कार्यक्रममा खेलकुद तर्फ मन बहादुर गुरुङ, साहित्य तर्फ छविलाल आचार्य र शिक्षा तर्फ इन्द्रराज्यलक्ष्मी माविका प्रधानाध्यापक केशवप्रसाद अम्गाईलाई सम्मान गरिएको छ। उनीहरूलाई मन्त्री थापा र समाजका अध्यक्ष ई दिनेश भण्डारीले सम्मान गरे ।सो अवसरमा समाजले स्थापना गरेको विभिन्न छात्रवृत्ति समेत वितरण गरिएको थियो।

त्यस्तै सोमबार भएको अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम भएको वेशलाईन ऐकेडेमी, द्वितीय भएको सुर्योदय बोडिङ्ग स्कुल, तृतीय भएकाे सोसियल पब्लिक स्कुल र सान्त्वना भएका सेन्ट मेरिज , सरस्वती आदर्श विद्याश्रम र भाष्कर मेमोरियल स्कुल भएका साथै उत्कृष्ट भेषभुषा जितेको कास्की मोडनाईज्ड स्कुललाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायक राजु ढकाल, देवी घर्ती, श्रीदेवी देवकोटा , र सुवास रेग्मीले आफ्ना चर्चित नयाँ पुराना तीजे भाका प्रस्तुत गरेका थिए। गायक प्रकाश दुतराजको प्रस्तुतिमा भने दर्शक रमाएका थिए। उनले पनि रिमै लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रम भने साँझ अबेरसम्म पनि संचालन भएको थियो। समाजले तीज महोत्सव संचालानार्थ स्थापना गरेको अक्षयकोषमा हालसम्म करिव ४० लाख रुपैयाँ संकलन भएको पुर्व अध्यक्ष नविन भण्डारीले जानकारी दिए।

यसैविच, लामाचौर कप पुरुष भलिबलकाे उपाधि ढुङ्गे देउराली क्लवले उचालेको छ। आज भएको फाइनल खेलमा जिएम समाजलाई हराउँदै ट्रफि, शिल्ड र नगद ३ लाख १ हजार १ सय ११ नगद राशी आफ्नो पोल्टामा पार्यो । उपविजेता बनेको जिएम समाजले नगद १ लाख ५१ हजार १ सय ११ मा चित्त बुझायो । वेष्ट प्लेयर सफल विक भए । छात्रा भलिबलको उपाधि भने शान्त माविले कब्जा जमायो । टप्स माविलाई हराउँदै शान्तले ट्रफि, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ प्राप्त गर्यो। टप्सले उपविजेता बन्दै ५० हजार १ सय ११ हात पार्यो। वेष्ट प्लेयर बन्दै पृथ्वी गाहाले ५ हजार प्राप्त गरिन्।

समाजका अध्यक्ष ई दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शोभा बानियाँ र सह सचिव राजकुमार पौडेलले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्