भाद्र १९, पोखरा ।।
पाताले छाँगो विवादले पोखरा ततायो, प्राकृतिक सम्पदामाथि महानगरको स्वार्थको खेल
पोखरा- १७, छोरेपाटनस्थित चर्चित पर्यटकीय स्थल डेभिज फल्स(पाताले छाँगो) ४० वर्षका लागि निजी कम्पनीलाई ठेक्का दिने निर्णय विवादित बनेको छ ।
पाेखरा महानगरपालिकाले उक्त स्थानमा सीसाको पुललगायतका संरचना निर्माण गरि सञ्चालनकाे जिम्मा सेती क्यानोनिङ प्रा.लि.लाई दिने सम्झौता गरेसँगै यस विरुद्ध त्यहाँका स्थानीय बासिन्दा र विभिन्न विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् ।
पटक-पटक विराेध हुदाँ समेत महानगरले उक्त सम्झाैता यथावत राख्दै सेती क्यानोनिङलाई नै दिएकाे छ । साे सम्झौता अनुरुप कम्पनीले निर्माण थालनी गर्नुपूर्व विहिबार(आज) वातावरणीय प्रभाव मूल्यांकनका लागि राखेको सार्वजनिक सुनुवाई कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । तर त्यहाँ स्थानीय बासिन्दा, नेपाल विद्यार्थी संघ (नेविसंघ) र अन्य विद्यार्थी संगठनले विरोध जनाएपछि साे कार्यक्रम स्थगित भएको थियो ।
उक्त कार्यक्रम विरुद्ध विराेध जनाएका विद्यार्थी संगठन माथि आक्रमण गर्न हतियार सहित आएका केही व्यक्तिहरुलाई स्थानीयले राेक्न खाेज्दा झडप समेत भएको छ ।
झडपका क्रममा एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेल रहेका छन् । उनीमाथि आक्रमणकारीले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्नेमा पोखरा -९ का २७ वर्षीय बंशसिंह खवास रहेका छन् र उनी आक्रमणकारी मध्यका एक जना भएको कास्की प्रहरीका सूचना अभिकारी प्रहरी नायव उपरीक्षक(डिएसपी) हरि बहादुर बस्नेतले प्रमुख मिडियालाई जानकारी दिएका छन् ।
उनकाे साथबाट प्रहरीले एक थान खुकुरी बरामद गरेकाे जनाएको छ । डिएसपी बस्नेतका अनुसार उक्त घटनाकाे सन्दर्भमा अनुसन्धान भइरहेकाे बताइएको छ ।
पाेखरा महानगरका निवर्तमान मेयर मान बहादुर जिसीले पाताले छाँगो र आसपासका सम्पदालाई सार्वजनिक निजी साझेदारीमार्फत दीर्घकालीन ठेक्कामा दिनुपर्ने निर्णय गरेका थिए ।
जसअन्तर्गत पाताले छाँगो, मोरेखहरे घाट, सेती खोचलगायतका स्थान लामाे समय सम्मकाे लागि निजी क्षेत्रलाई जिम्मा दिने निर्णय पारित गरेका थिए।
उक्त निर्णयलाई हालका मेयर आचार्य नेतृत्वको कार्यपालिका बैठकले सदर गर्दै दुई पक्ष बिच सम्झौता भएको थियाे । तर, स्थानीय बासिन्दा र विद्यार्थी संगठनहरूले भने यस निर्णयलाई सम्पदा निजीकरण गर्ने प्रपञ्च भन्दै विरोध गर्दै आइरहेका छन्।
विषेशगरी कुनैपनि सार्वजनिक सम्पदा आजका मात्र होइन भोलिका पुस्ताको पनि हक हुन्छ । त्यही सम्पदालाई ३०–४० वर्षको लागि कुनैपनि निजी कम्पनीलाई ठेक्का दिएर एउटै पुस्ताले करिब आधा शताब्दीकाे निर्णय गरिदिनु यो स्थानीय सरकारको गलत कार्य भएको स्थानीयले बताए ।
सन् १८९८ जर्मनको भू-वैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थान (बीजीआर)ले पोखराका प्राकृतिक सम्पदालाई लिएर एउटा अध्ययन गरेको थियो ।
उक्त अध्ययन प्रतिवेदनले पातले छाँगो, सेती खोज लगायत पोखराका विभिन्न प्राकृतिक सम्पदालाई रेड–जोन क्षेत्र घोषणा गरेको थियो ।
यस्तो क्षेत्रमा कुनैपनि प्रकारका संरचना निर्माण हुनु त्यो प्रकृति विरुद्ध जानु हो जसले गर्दा जुनसुकै समय दुर्घटना हुन सक्छ ।
यसरी प्राकृतिक हिसाबले अत्यन्तै जोखिमयुक्त सार्वजनिक सम्पदालाई केही व्यक्तिको स्वार्थमा निजी क्षेत्रलाई जिम्मा दिने निर्णय गर्नु महानगरपालिका र केही जनप्रतिनिधिको स्वार्थपूर्ति मात्र रहेको भन्दै स्थानीय र विद्यार्थी संगठनहरु आक्रोशित बनेका हुन् ।
यस्तो निर्णयले भविष्यको विकल्प सिमित बनाउने हुँदा सर्वसाधारण र स्थानीय सरोकारवालामाथि अन्याय हुने भन्दै चौतर्फी रूपमा विरोध पनि भइरहेको छ। तर महानगरका मेयर भने सम्झौता कार्यान्वयनका लागि भन्दै लागि परेका छन् ।
मेयरको यस्तो गतिविधिले अहिले पोखराबासी समेत आक्रोशित भएका छन् । हिजोको दिनमा अत्याधिक मत दिएर पोखरा महानगरको मेयर पदमा विजयी गराएका पोखरेलीहरु यतिबेला उनको विरुद्ध चर्को आवाजमा विरोध गर्न समेत तयार रहेका छन् ।












