जेन–जीको राष्ट्रिय आन्दोलन : सोमबार देशभर प्रदर्शन हुने
  • प्रमुख खबर

Oplus_0

भाद्र २३, पोखरा ।।
भ्रष्टाचार र राजनीतिक विशेषाधिकारको विरोधमा देशभरका जेनजी युवाहरुले प्रदर्शन गर्ने भएका छन् ।

उनीहरूले सोमबार(भोलि) देशभरका मुख्य-मुख्य शहरहरूमा एकै साथ राष्ट्रियस्तरको प्रदर्शन गर्ने भएका हुन् ।

विषेशगरी जेनजी युवाहरुको उक्त प्रदर्शनको मुख्य कारण दुई वटा पक्षमा केन्द्रित रहेको बताइएको छ ।

एउटा दीर्घकालीन रुपमा फैलिएको भ्रष्टाचार साथै पारदर्शिताको अभाव र अर्को सरकारले हालै लागू गरेको सामाजिक सञ्जालहरू(फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युब) आदि बन्द गर्ने निर्णयका विरुद्ध रहेको छ। सो प्रदर्शन भोलि पोखरा, काठमाडौं, विराटनगर लगायत देशभरका विभिन्न शहरहरूमा एकैसाथ सुरु हुनेछ ।

जेनजी युवाहरुले अहिले अनलाइनमा ‘नेपो किड’ अभियान पनि चलाइरहेका छन् । जसलाई राजनीतिक पारिवारिक विशेषाधिकारसंग जोड्दै त्यसबारे पनि प्रश्न उठाइरहेका छन् ।

भोलि हुने यस आन्दोलनको आह्वान अधिकांस रूपमा टिकटक, एक्स (साथै रेडिट, इन्स्टाग्राम र फोरमहरू) मार्फत फैलिएको देखिन्छ। ती प्लेटफर्ममा युवा–समुदायले ‘#WakeUpGenZ’ र समकक्षी ह्यासट्यागबाट आह्वान चलाएका छन् ।

यस आन्दोलनलाई जेनजी युवाहरुले स्वतःस्फुर्ति र जन–आधारित भनेर परिभाषित गरेका छन् । त्यसैले कुनैपनि राजनीतिक दल वा कुनै ठूला संरचनाको आधिकारिक अगुवाइ नभएको दावी गरेका छन् ।

उनीहरूले यस अभियानमा सहभागी हुन आउने अन्य जेनजी युवाहरुलाई शान्तिपूर्ण रहन, सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न, भौतिक तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र निजी/सरकारी सम्पत्तिमा क्षति नगर्न अनुरोध गरेका छन् ।

अहिलेसम्म केन्द्र सरकारले आन्दोलनविरुद्ध कुनै विशिष्ट निषेधात्मक आदेश जारी गरेको भएको छैन । तर सरकारको हालको निर्णय (अनियमित दर्ता/प्रतिबन्ध नमान्ने प्लेटफर्महरूलाई ब्लक गर्ने) र त्यसविरुद्धको युवा आक्रोशले राजनीतिक तथा मानवअधिकार सम्बन्धी बहसलाई तातो बनाइदिएको छ।

विश्लेषकहरूको मूल्याङ्कनमा यो आन्दोलन एक पटकको प्रदर्शन भन्दा बढी, नयाँ पुस्ताको राजनीतिक चेतनाको संकेत हुनसक्छ। यदि शान्तिपूर्ण ढंगले अघि बढ्यो भने यसले सरकारलाई जवाफदेही बन्न दबाब दिन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्