आश्विन ६, पोखरा ।।
नेपालीहरुको महान पर्व बडादशैं सोमबार(आज)देखि रूपमा सुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास पूर्वक मनाइने यो पर्वको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक कलश, दियो र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत अहिले बिहान ९ बजेर १३ मिनेटमा छ ।
विषेशगरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
यस दिन पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । यस दिन गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा रोप्ने गरिन्छ ।
घटस्थापना देखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइने परम्परा समेत रही आएको छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको तर यो मानव जातिको कल्याणको निम्ति काम गर्ने शक्तिको प्रतीकका रुपमा यसलाई मनाउने गरिएको धर्मशास्त्रीले बताउने गरेका छन् ।
यस वर्ष दशैंको टीका असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।












