असोज ८, पोखरा ।।
दर्शन सहकारी तथा ऋण संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ। छोरेपाटनस्थित नेपाल ठकुरी संगम परिवार कास्कीको सभाहलमा उक्त संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर सिंहले दर्शन सहकारीलाई गौरवशाली संस्था बनाउन सबै सदस्यले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।
उनले सहकारीलाई अझ सक्षम बनाउन सञ्चित कोष वृद्धि गर्नुपर्ने उल्लेख गर्दै सहकारीलाई राज्यले प्राथमिकतामा राखेकोले सबैले सकारात्मक योगदान दिनुपर्ने धारणा राखे ।
त्यस्तै ठकुरी महासंघका केन्द्रीय अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष खिम बहादुर शाहीले ठकुरी समुदायमा छरिएका पूँजीलाई एकिकृत गर्ने उद्देश्यले सहकारी स्थापना भएको बताउँदै, यसले जनतामा आर्थिक जागरण ल्याएको उल्लेख गरे ।
सो कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले सहकारीले समाजमा उल्लेख्य योगदान पुर्याए पनि केही सहकारीले अविश्वास फैलाउने गतिविधि गरेको भन्दै सदस्यहरुलाई आफ्नो बचत रकम सुरक्षित गर्न विश्वासिलो सहकारी छनोट गर्न आग्रह गरे।
उक्त सभामा यस वर्ष उत्कृष्ट शैक्षिक नतिजा ल्याउन सफल युसिव हमाल, राज सेन, मनिका सिंह, काजल खाण र जेनिश मल्ललाई सम्मान समेत गरेको थियो।
यसैबीच जेष्ठ शेयर सदस्य लक्ष्मण सिंह र नेत्र बहादुर शाही, असल सहकारी अभ्यासकर्ता शोभा कुमारी मल्ल, सीता शाही र सम्झना हमाललगायतलाई पनि सम्मान गरियो ।
सहकारीका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लक्ष्मण मल्लले गरेका थिए । यस्तै कार्यक्रम सञ्चालन सचिव ज्योति हमालले गरेकी थिइन् ।












