असोज ९, पोखरा ।।
बडादशैं अन्तर्गत नवरात्रको चौथौं दिन बिहीबार(आज) देशभर कुष्माण्डा देवीको विशेष पूजा–आराधना गरिँदैछ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन दुर्गा पक्षअन्तर्गत कुष्माण्डा देवीलाई विधिपूर्वक पूजाआजा गर्ने परम्परा रहि आएको छ।
घटस्थापना सुरु भएपछि नौ दिनसम्म विभिन्न रूपमा दुर्गामाताको उपासना गर्ने परम्परा अनुसार आज भक्तजनले कुष्माण्डालाई स्मरण गरिरहेका छन्।
धार्मिक विश्वास अनुसार कुष्माण्डा देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने बताइन्छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गर्ने परम्परा छ।
यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र अन्तिम दिन सिद्धिदात्रीको आराधना गरिन्छ। यी नवदुर्गाका सामूहिक स्वरूपलाई नै ‘नवदुर्गा’ भनिन्छ।












