फूलपाती भित्र्याउँदै सुरु भयो दशैँको रौनक
  • प्रमुख खबर

Oplus_131072

असोज १३, काठमाडौं ।।
आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व सोमबार(आज)देशभर धुमधामका साथ मनाइँदैछ । घर–घरमा वैदिक परम्परा अनुसार फूलपाती भित्र्याएर देवी आराधना गर्ने चलन रहिआएको छ ।

घटस्थापनादेखि सुरु भएको दुर्गा पूजामा सप्तमीका दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक फूल र मानवृक्ष भित्र्याएर पूजा गर्ने प्रचलन छ । यी सामग्रीलाई सामूहिक रूपमा ‘नवपत्रिका’ वा ‘फूलपाती’ भनिन्छ, जसलाई नवदुर्गाका पार्षद देवीहरूको प्रतीक मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने परम्परा रहिआएको छ ।

हनुमानढोका दरबारमा भने विशेष विधिपूर्वक फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट पूजारी र मगर समुदायका व्यक्तिहरूले फूलपाती बोकेर धादिङको जीवनपुरसम्म ल्याउने, त्यहाँबाट काठमाडौंका ब्राह्मणहरूले जमलसम्म पु¥याउने र त्यसपछि निजामती सेवाका अधिकारी, गुर्जु पल्टन, पञ्चेबाजा, सांस्कृतिक झाँकीसहितको लावालस्करमा हनुमानढोकासम्म पुर्‍याउने चलन छ ।

राजतन्त्रकालमा यस अवसरमा राजा स्वयं उपस्थित हुने गर्थे भने गणतन्त्र स्थापनापछि संस्कृति मन्त्रीले फूलपाती ग्रहण गर्ने परम्परा बनेको छ । यस वर्षको फूलपाती अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम तय भएको छ ।

यससँगै दशैँको सामाजिक चहलपहल अझ बढ्ने अपेक्षा गरिएको छ । घटस्थापनादेखि घरघरमा राखिएको जमरा र देवीपूजाको विधि आजको दिनपछि विशेषत: सक्रिय चरणमा प्रवेश गर्ने धार्मिक विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्