आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाईदै
  • प्रमुख खबर

असोज १६, पोखरा ।।
आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । तर आज दुर्गा विसर्जनपछि जुनसुकै बेला टीका लगाउन सकिने धर्मशास्त्रबिद् सुर्यप्रसाद ढुंगेलले बताए । ढुंगेलले टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुने जानकारी दिए । उनका अनुसार आज नभ्याउनेले कोजाग्रत पूर्णिमा सम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

नेपाल पचाङग निर्णायक विकास समितिले घटस्थापना गरी जमरा राखेको ठाउँमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ९ बजेर २३ मिनेटमा रहेको जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

पौराणिक मान्यता अनुसार त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एव्म दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्