असोज १८, चितवन ।।
निरन्तर वर्षाका कारण शनिबार(आज) बिहान मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै ठूलो पहिरो खसेको छ ।
पहिरोका कारण पछि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ। यस्तै मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकैको भागमा पहिरो खसेपछि हाल सडक एकतर्फी मात्र सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयका अनुसार केही स्थानमा ढुंगा खस्ने क्रम निरन्तर जारी रहेकाले जोखिम अझै बढेको छ। यही कारण तत्काल यात्रा गर्दा सतर्कता अपनाउन उक्त सडक खण्ड प्रयोगकर्तालाई आग्रह गरिएको छ।
सडक विभागले मनसुन अझै सक्रिय रहेकाले कम्तीमा आगामी सोमबारसम्म पहिरो र बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ।
विभागले विशेषगरी मुग्लिन–नारायणगढ, मुग्लिन–गोरखा, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ र गल्छी–स्याङ्जा सडकखण्डमा अवरोधको सम्भावना बढी भएकाले रातिको समयमा यात्रा नगर्न सवारी चालक र यात्रुलाई सचेत गराएको हो।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार प्रभावित क्षेत्रमा उपकरण परिचालन गरी सडक खुलाउने कार्य जारी छ।
यात्रु तथा सवारी चालकले आवश्यक जानकारीका लागि टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकैको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
दशैंका अवसरमा उपत्यकाबाट बाहिरिने र फर्कने यात्रुहरूको चाप बढिरहेका बेला रातमा यात्रा गर्दा धनजनको क्षति बढ्न सक्ने भएकाले सकेसम्म दिनमै यात्रा गर्न विभागले सुझाव दिएको छ।












