असोज २४, पोखरा ।।
अहिले विघटित प्रतिनिधिसभाका सांसदहरूले धमाधम रातो पासपोर्ट फिर्ता गरिरहेको समयमा एमालेबाट विजयी पूर्वसांसद विद्या भट्टराईले भने आफूले दुवै कार्यकालमा पासपोर्ट नबनाएको बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेकी छिन्, ‘नमस्कार निवर्तमान प्रतिनिधिसभा सदस्य ले रातो पासपोर्ट बुझाइरहनु भएको सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । मैले रातो पासपोर्ट दुवै कार्यकालमा बनाएको थिइनँ भन्ने कुरा यहाँहरू सबैमा जानकारी गराउँछु ।’
कास्कीबाट उपनिर्वाचान र आमनिर्वाचन दुवैबाट विजयी भएकी भट्टराई सांसद हुनु अगाडि उनी प्राध्यापन गर्दै थिइन् । त्यो भन्दा अगाडि उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । शिक्षक आन्दोलनताका शिक्षकका मागमा नरम भएपछि उनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएको खुलासा भएको थियो । पछि उनले राजीनामा दिएपछि रघुजी पन्त शिक्षामन्त्री बनाइएका थिए ।









