जेनजी आन्दोलनपछिको चुनौतीबीच पोखरा महानगरद्वारा सल्लाहकार परिषद्सँग विस्तृत छलफल
  • प्रमुख खबर

असोज २४, पोखरा ।।
जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण अवस्थाबीच पोखरा महानगरपालिकाले प्रभावकारी सेवा प्रवाह र सुशासन सुदृढीकरणका उपायबारे सल्लाहकार परिषद्सँग विस्तृत छलफल गरेको छ।

शुक्रबार(आज) बिहान महानगर सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख धनराज आचार्यले आन्दोलनले पारेको प्रभाव, क्षतिको मूल्याङ्कन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।

परिषद्मा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागीता थियो। छलफलका क्रममा सहभागी विज्ञहरूले महानगरको सेवा प्रवाहलाई अझ चुस्त, छरितो र पारदर्शी बनाउन ठोस सुझावहरू दिएका थिए।

बैठकमा प्रमुख आचार्यले जेनजी आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य कार्यालयसहित २६ वटा वडा कार्यालय, १३ वटा सवारीसाधन र ३६ वटा मोटरसाइकलमा तोडफोड र आगजनी भएको जानकारी दिएका थिए।

उनले यसले करिब २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुर्‍याएको बताएका थिए। त्यस अवस्थामाझ पनि नागरिक सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले महानगरले पोखरा सभागृह, पुराना महाशाखा कार्यालयहरू र दमकल परिसरबाट वैकल्पिक रूपमा सेवा प्रवाह गरिरहेको आचार्यले बताए।

नगर प्रमुखले सेवा निरन्तरतासँगै आन्तरिक व्यवस्थापन सुधार र सुशासन प्रवर्द्धनलाई आगामी दिनमा प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने समेत बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्