असोज २८,पोखरा ।।
पोखरा । पोखरा महानगरपालिका–१२ चापापानी मार्गस्थित सितलादेवी सामुदायिक विद्यालयको पूर्वी गेटअगाडि सोमबार राति एक महिलामाथि सुनका गहना लुट्ने प्रयास भएको छ।
ब्यबसायी समाजसेवी कृष्ण प्रसाद कोइरालाका अनुसार घटना राति करिब ८:३० बजे तिर श्रीमान् र श्रीमती कामबाट घर फर्कने क्रममा भएको हो। श्रीमती गाडीबाट झरेर गेट खोल्ने क्रममा ग १३ प ९८३२ नम्बरको मोटरसाइकलमा आएका एक युवाले पेस्तोल देखाई उनको घाँटीको सुनको सिक्री र कानको रिङ तान्ने प्रयास गरेका थिए। लुटपाटको क्रममा महिला र लुटेराबीच केही बेर लछारपछार पनि भएको बताइएको छ।
पीडित पक्षले हारगुहार गरेपछी लुटेरा मोटरसाइकल छोडी सानो बमजस्तो वस्तु पड्काउदै फरार भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरीबहादुर बस्नेतको निर्देशनमा वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टरको कमान्डमा गस्ती टोली खटिएको थियो। प्रहरीले तत्कालै पोखरा–१२ भेटरिनरी अगाडि राती ९:१५ बजे सो घटनामा संलग्न व्यक्तिलाई समात्न सफल भएको जनाएको छ।
घटनामा छरछिमेकी, प्रहरी टोली र गस्ती प्रहरीको समन्वयले अपराधी नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका खेलेको कोइरालाले बताएका छन्।
कोइरालाले प्रहरी प्रशासन, गस्ती टोली र सहयोगी छिमेकीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भोलिका दिनमा सबैलाई सुरक्षित र होसियार रहन आग्रह गरेका छन्।












