यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मा
  • प्रमुख खबर

Oplus_131072

असोज २८, काठमाडौं ।।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिएका छन् ।

कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको उनले बताए ।

उनका अनुसार विषेशगरी राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने तर सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नभएको बताए ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।

कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

कात्तिक ४ गते मंगलबार बिहान औँसी तिथिमा स्नान र दान गर्दा राम्रो हुने भएकोले सो दिन दान गर्दा अति उत्तम हुने समितिले जनाएको छ।

यस्तै कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा रहेको छ। ‘कृत्यवाटिका’ ग्रन्थका अनुसार कात्तिक शुक्ल प्रतिपदाको साँझ आत्मपूजा गर्नुपर्ने उल्लेख छ।

नेवार समुदायले विशेष रूपमा मनाउने आत्मपूजा र नेपाल संवत् नयाँ वर्ष ११४६ पनि यही दिनदेखि सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्