कास्कीमा अब पूर्वस्वीकृति बिना कार्यक्रम सञ्चालन गर्न नपाइने
  • प्रमुख खबर

असोज २९, पोखरा ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने जनाएको छ।

प्रशासनले बुधबार(आज) सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो। जारी सूचनामा भनिएको छ, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अनुसार, पूर्वअनुमति नलिई आयोजना गरिएका कार्यक्रमहरूले समस्या सिर्जना गर्न सक्ने भएकाले अनुमति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नपर्ने छ।”

प्रशासनको अनुरोध अनुसार अब कुनैपनि सभा, समारोह, प्रदर्शन, जात्रा, मेला, कन्सर्ट वा अन्य सांस्कृतिक तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुअघि आयोजकले स्थानीय तहबाट स्वीकृति लिनुपर्नेछ। यससँगै शान्ति र सुरक्षा सुनिश्चित गर्न कार्यक्रमको विवरण प्रशासनलाई पनि उपलब्ध गराउनुपर्नेछ।

निवेदनमा आयोजकको नाम, सम्पर्क नम्बर, कार्यक्रमको मिति, समय, स्थान र सहभागीको संख्या स्पष्ट उल्लेख गर्नुपर्नेछ।

त्यस्तै कार्यक्रम सञ्चालनको स्वीकृति प्रमाणपत्र र संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्ने प्रशासनले जनाएको छ।

कास्की प्रशासनले नागरिक र कार्यक्रम आयोजक सबैसँग सहकार्य गरी शान्ति सुरक्षामा समस्या नआओस भन्ने उद्देश्यले यो व्यवस्था लागू गरेको पनि सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्