असोज ३०, पोखरा ।।
गत भदौ २३ र २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीपछि कारागार कार्यालय कास्कीबाट फरार भएका कैदी तथा थुनुवामध्ये ८१ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।
कारागारबाट भागेका जतिपनि कैदी तथा थुनुवाहरु छन् तिनीहरूलाई प्रहरीले असोज २० गतेभित्र स्वस्फूर्त रूपमा फर्किन अपिल गरेका थिए ।
तर प्रहरीले गरेको अपीलको व्यवस्था गर्दै समयसीमा नाघेपछि पनि कारागार नफर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष खोजतलास अभियान सञ्चालन गरेको थियो।
सोही अभियानमार्फत विभिन्न मुद्दाका कैदी र थुनुवा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार जवरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अंगभंग र कुटपिटबाट अंगभंग मुद्दाका १–१ जना, मानव बेचविखन मुद्दाका १ जना गरी ८१ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतका अनुसार बाँकी फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको बताउँदै फरार सबैलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धताका साथ प्रहरी टोलीहरू सक्रिय रहेको पनि जानकारी दिए ।












