प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न सुरु
  • प्रमुख खबर

Oplus_131072

कार्तिक ४, काठमाडौं ।।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत अतिरिक्त विद्युत् उपयोग गरे पनि प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न सुरु गरेको छ।

प्राधिकरणले मंगलबार(आज) बिहानदेखि जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको जनाएको छ। यी उद्योगहरूले लामो समयदेखि बक्यौता रकम तिरेका छैनन्।

प्राधिकरणका अनुसार जगदम्बा स्टीलले १ अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख, र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ।

यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुल हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा समेत बक्यौता तिर्न सक्ने व्यवस्था मिलाइएको छ।

उनले लाइन काटिएका उद्योगहरूको सहजताका लागि प्राधिकरणले किस्ताबन्दी सुविधा उपलब्ध गराएको बताउँदै पहिलो किस्ता तिरेपछि कुनै पनि समयमा काटिएको लाइन पुनः जडान गरिने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्