कार्तिक ८, वीरगन्ज ।।
मिथिला क्षेत्रको सर्वाधिक ठूलो धार्मिक तथा सांस्कृतिक पर्व छठ शनिबार(आज)देखि औपचारिक रूपमा सुरु भएको छ।
पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणको कामनासहित चार दिनसम्म मनाइने यस पर्वलाई कठोर साधनाको पर्व मानिन्छ ।
यो पर्वमा अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले यसलाई निष्ठाको पर्व समेत भनिन्छ ।
यस पर्वको प्रारम्भ आज ‘नहाय–खाए’ विधिबाट हुँदैछ। आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
दोस्रो दिन ‘खरना’ अर्थात दिनभरि उपवास गरी राति खीर चढाउने गरिन्छ। तेस्रो दिन ‘सन्ध्या अर्घ’-अस्ताउँदो सूर्यलाई अर्घ दिने धार्मिक परम्परा रहेको छ।
यस्तै अन्तिम दिन ‘उषाकालीन अर्घ’- बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी यस पर्वको समापन हुन्छ।
विषेशगरी सूर्य उपासना र शुद्धताको प्रतीक मानिने छठ पर्वको तयारीले मधेशका क्षेत्रहरू उत्सवमय बनेका छन्। यो पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया-कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ ।
त्यस्तै ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने प्रचलन समेत छ ।
विषेशगरी तराई–मधेशका क्षेत्रहरूमा धुमधामका साथ मनाइने यो पर्वका कारण अहिले त्यहाँका बजारहरूमा पूजाका सामग्री किनमेलको चहलपहल छ ।
यस्तै नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् ।












