कार्तिक ११, पोखरा ।।
सूर्यदेवको आराधना र भक्तिभावपूर्वक पूजासहित मनाइने चारदिने छठ पर्व मंगलबार(आज) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने यस पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भोजन गर्ने ‘नहाय–खाय’ विधिबाट शुभारम्भ गरेका थिए।
दोस्रो दिन अर्थात् पञ्चमीका दिन व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ अनुष्ठान गरेका थिए।
षष्ठीका दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै घाटहरूमा सामूहिक पूजा आराधना गरेका थिए ।
त्यस्तै आज बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि पर्वको समापन गरिएको हो। धार्मिक विश्वास अनुसार सूर्यदेवको आराधनाबाट आरोग्य, सन्तान, धनसम्पदा र दीर्घायु प्राप्त हुने मान्यता छ।
विज्ञान र ज्योतिषीय दृष्टिले पनि सूर्यको पूजासँग स्वास्थ्य र ऊर्जा प्राप्तिको सम्बन्ध रहेको बताइन्छ।
पहिले तराई क्षेत्रमा मात्र मनाइने यो पर्व अहिले राजधानी सहित पोखरा र अन्य पहाडी जिल्लाहरूमा समेत उत्साहका साथ मनाउन थालिएको छ।
पोखराको तुलसीघाट, रामघाट र केदारेश्वर मन्दिरमा समेत छठ पर्व विधिवद रूपमा हर्षउल्लासका साथ सम्पन्न भएको छ।












