भारी हिमपातले गर्दा मुस्ताङ मनाङमा यात्रा नगर्न आग्रह
  • प्रमुख खबर

कात्तिक ११, लमजुङ ।।
मनाङमा निरन्तर वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालयले पदयात्रा र हिमाल आरोहणमा तत्कालका लागी रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले मंगलबार एक सूचना जारी गर्दै हालको मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्र वा मनाङ हुँदै गरिने सबै प्रकारका पदयात्रा तथा आरोहण नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्धारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले कात्तिक १० गते जारी गरेको विशेष बुलेटिनअनुसार कात्तिक १० गते रातिदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ ।

‘हिमाली भू–भागमा वर्षा तथा भारी हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारी हिमपात भइरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न/नगराउनुहुन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाहृय पर्यटकहरुमा हार्दिक अनुरोध गर्दछ’ प्रशासन कार्यालयद्धारा जारी सूचनामा भनिएको छ ।

प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई आफू रहेको स्थानमा सुरक्षित रहन र नयाँ यात्रा वा आरोहणका लागि ननिस्किन आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी पौड्यालले हालको मौसम अवस्था अत्यन्तै जोखिमपूर्ण भएकाले पर्यटक तथा स्थानीयलाई सावधानी अपनाउन अनुरोध गरिएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्