मोन्था चक्रवात कमजोर बन्दै गएसँगै देशभर सुधारको संकेत, भोलिदेखि घाम लाग्ने
  • प्रमुख खबर

कार्तिक १५, काठमाडौं ।।
केही दिनयता लगातार वर्षा र हिमपात गराउँदै आएको मोन्था चक्रवातको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ। यससँगै देशभर मौसममा सुधार देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल काठमाडौँ उपत्यकासहित देशका मध्य क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने पूर्व र पश्चिमका अधिकांश क्षेत्रमा गएरातिदेखि नै आंशिक सुधार देखिन थालेको हो।

मौसमविद् गोविन्द झाका अनुसार आज बिहानसम्म काठमाडौँ र आसपासका क्षेत्रमा छिटफुट वर्षा भए पनि दिउँसोतिर क्रमशः पानी रोकिने र मौसम खुल्ने क्रम सुरु हुनेछ। तर आज पूरै घाम लाग्ने सम्भावना भने कम रहेको उनले स्पष्ट पारे।

भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने र आगामी दिनमा मौसम सामान्य घमाइलो रहने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार पछिल्ला केही दिन पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र बंगालको खाडीको ‘मोन्था चक्रवात’ को संयुक्त प्रभावले देशका धेरै स्थानमा वर्षा र हिमपात भएको थियो।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही भागमा मध्यम वर्षा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्