कार्तिक १६, काठमाडौं ।।
देशभर पछिल्ला केही दिनदेखि परेको लगातार वर्षा र हिमपातपछि आइतबार(आज)देखि मौसममा थप सुधार हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि क्रमशः सुधार भइरहेको मौसम आज अझ थप सुधार हुनेछ।
विषेशगरी बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटिसकेको भएपनि अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
यसै कारण आज पनि देशका केही भागमा हल्का पानी पर्ने सम्भावना भने रहेको मौसमविद् गोविन्द झाले बताएका छन् ।
उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा आज सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ। तर बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहने सम्भावना छ।
बाँकी भागमा भने आकाश खुला रहनेछ। राति पनि यस्तै मौसमी अवस्था रहने अनुमान गरिएको छ।
यो वर्ष कात्तिक दोस्रो हप्तामा मोन्था चक्रवात, अरब सागरको न्यून चाप र पश्चिमी वायुको संयुक्त प्रभावले देशभर असामान्य वर्षा भएको थियो।
यसले धानबालीमा व्यापक क्षति पुर्याएको छ भने हिमपातका कारण उच्च हिमाली क्षेत्रका पद मार्गहरू समेत प्रभावित बनेका छन्।












