कार्तिक १९, काठमाडौं ।।
पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसकारण बुधबार(आज) बेलुकादेखि देशभर मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको भए पनि यसको प्रभाव बिस्तारै घट्दै जानेछ।
आज दिनभर देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
विषेशगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
त्यस्तै आज राति देशका अधिकांश भागमा आंशिक बदली रहने तर मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।












