कार्तिक २३, पोखरा ।।
गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति हासिलभइसकेको छ।
आयोजनाले आगामी चैत महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्य राखेको जनाएको छ।
सुरुमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रगति सुस्त भए पनि पछिल्लो समय कामले गति पाएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिएका छन् ।
वि.सं. २०७८ माघमा दुई वर्षे अवधिको लागि सम्झौता भएको यो आयोजना वि.सं. २०८० वैशाखदेखि मात्र औपचारिक रूपमा सुरु गरिएको हो।
भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुर क्षेत्रका तार भूमिगत गर्ने काम रु. २ अर्ब ५० करोड ३३ लाखमा पाएको थियो।
तीमध्ये पोखरा क्षेत्रमा मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा बिजुली वितरण सुरु भइसकेको सुवेदीले बताए।
त्यस्तै अहिले सिर्जनाचोकदेखि सभागृह र जिरो किलोमिटर क्षेत्र हुँदै लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको छ। यसपछि न्यूरोड, चिप्लेढुङ्गा लगायतका क्षेत्रमा पनि काम सुरु गरिने योजना छ।
इन्जिनियर सुवेदीका अनुसार विद्युत् लाइनसँगै टेलिफोन, इन्टरनेट र केबलका लागि अप्टिकल फाइबर समेत एकैसाथ बिछ्याइनेछ।
विषेशगरी होरिजोन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने काम भइरहेको छ।
पोखराका सहरी र पर्यटकीय क्षेत्रमा अव्यवस्थित बिजुलीका तार पोलबाट हटाएर भूमिगत गर्दा शहरको सौन्दर्य र सुरक्षित आपूर्ति प्रणाली दुवै सुधार हुने अपेक्षा गरिएको छ।
भूमिगत प्रणालीले बढी क्षमतायुक्त र भरपर्दो आपूर्ति सुनिश्चित गर्ने भएकाले यसले ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न सहयोग गर्ने प्राधिकरणको विश्वास छ।
नेपाल विद्युत् प्राधिकरणले यस्तै भूमिगत तार प्रणाली काठमाडौं, पोखरा र भरतपुरजस्ता ठूला शहरमा क्रमिक रूपमा विस्तार गर्दै जाने योजना अघि सारेको छ।













