पोखरामा पुन यूरोपेली सिनेपर्व: २५ उत्कृष्ट चलचित्र एकै मञ्चमा
  • प्रमुख खबर

मंसिर ४, पोखरा ।।
१४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ आठ वर्षपछि फेरि पोखरामा हुँदैछ।

पहिलो पटक २०१८ मा पोखरामा यो महोत्सव आयोजना भएको थियो । यही मंसिर ६ र ७ गते चिप्लेढुङ्गास्थित क्युएफएक्स ट्रेड मलमा सो महोत्सव हुने भएको हो ।

विषेशगरी यस संस्करणले यूरोपका प्रतिष्ठित चलचित्रकर्मी र नेपालको उदीयमान प्रतिभाशाली सिर्जनात्मक स्वरलाई एकैसाथ ल्याउँदै सीमानाविनाको चलचित्रको उल्लास मनाउँदैछ ।

यस संस्करणमा २५ चलचित्र छन् जसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल छन्।

यी चलचित्रहरूले पहिचान, अपनत्व, प्रतिरोध र रूपान्तरणजस्ता गहन विषयवस्तुलाई केन्द्रमा राखेका छन्।

आयोजकका अनुसार यस महोत्सवमा सहभागी चलचित्रहरूले हिम्मत, स्मृति र आशाको साझा सिनेमा–भाषा अभिव्यक्त गरेका छन्।

यस वर्ष यो महोत्सवमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जेभिदा हंगेरीको विथआउट एअर, अस्ट्रियाको ह्याप्पी, फ्रान्स–इटालीको संयुक्त निर्माण द गर्ल फ्रम टुमरो, नेदरल्यान्ड्सको जिप्पी नो मोर, लिथुएनियाको रिमेम्बर टु ब्लिंक, पोल्यान्ड–स्विट्जरल्याण्डको द लास्ट एक्सपिडिशन, रोमेनियाको थ्री किलोमिटर्स टु द एण्ड अफ द वर्ल्ड लगायतका चलचित्र पोखरेली दर्शकहरुले हेर्न पाउने भएका छन् ।

उक्त चलचित्रहरुले युरोपेली समाज र संस्कृतिको कोणीय चित्रण प्रस्तुत गर्नेछन्। यस्तै महोत्सवमा बाफ्टा मनोनयनमा परेका वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मिल्क, आडिओस, स्टमक बग र मग्स क्रिसमस नामक लघुचलचित्रहरू समेत हेर्न पाइने भएको छ।

यी सबै लघुचलचित्रलाई ब्रिटेनको पुरस्कृत कथावाचन शैली र प्रयोगधर्मी फिल्म निर्माणका उत्कृष्ट उदाहरण मानिन्छ।

यिनै सन्देशमूलक र कलात्मक सिर्जनाहरू पोखरामा प्रदर्शन गरिनु ब्रिटिश सिनेमाको नयाँ प्रयोग र कथावाचन शैली नेपाली दर्शकसमक्ष ल्याउने महत्वपूर्ण अवसर मानिएको छ।

त्यस्तै पोखरेली दर्शकले आफ्नै समाजका मुद्दा, पीडा र स्वभाव बोकेका ९ लघुचलचित्र हेर्न समेत पाउने भएका छन् ।

ती लघुचलचित्रलाई स्थानीय पक्षबाट चयन गरिएको हो । जसअन्तर्गत चिसोघर, अबिस (बिनिथ द ब्लुज), अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौं र ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन समावेश रहेका छन्।

आयोजकका अनुसार यही महोत्सव अन्तर्गत मंसिर ६ गते दिउँसो २ बजे पोखरामा ‘चलचित्र उद्योगले अब के गर्ने त?’ शीर्षकमा विशेष छलफल पनि आयोजना हुँदैछ।

ब्रिटिश काउन्सिलको सहकार्यमा हुने यस कार्यक्रमले पोखरालाई काठमाडौंभन्दा बाहिर अर्को दिगो र सम्भावनायुक्त चलचित्र केन्द्रका रूपमा विकसित गर्ने विषयमा दृष्टिकोण खोज्नेछ।

सो छलफल कार्यक्रममा वक्ताहरु गौ माया गुरुङ, जस्सु गुरुङ र प्रविण टक्की कार्कीले उद्योगका व्यावहारिक चुनौती र सम्भावनामा आफ्ना अनुभव राख्नेछन्।

महोत्सव युरोपेली संघको नेपालस्थित प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड लगायतका दूतावास, सांस्कृतिक संस्थानहरू, ब्रिटिश काउन्सिल र युनेस्कोको सहकार्यमा आयोजना गर्न लागेको हो । सबै चलचित्र निःशुल्क हुनेछन् र प्रत्येक कृतिमा अंग्रेजी सबटाइटल रहनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्