मंसिर ५, काठमाडौं ।।
फागुन २१ गतेको लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश गर्न शुक्रबार(आज) अन्तिम दिन रहेको छ।
कात्तिक मसान्तमै सकिनुपर्ने नामावली दर्ताको समयावधि निर्वाचन आयोगले केही दिन थप गरेको थियो । तर उक्त समयावधि आज सकिँदैछ ।
आयोगका अनुसार राष्ट्रिय परिचय-पत्र नम्बर भएकाले अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
जैविक तथ्याङ्क (बायोमेट्रिक) राष्ट्रिय परिचय-पत्रसँग लिंक भएपछि मात्र दर्ता प्रक्रिया पूर्ण हुने व्यवस्था छ। हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता समावेश भइसकेका छन्।
त्यस्तै आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्म विशेष अवधि तोकेको छ।
यो अवधिमा व्यक्तिगत विवरणमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिले झुटा विवरणका आधारमा नाम समावेश गरेको भए उजुरी दर्ता गर्न, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेको भए एक स्थानमा मात्र कायम गराउन, मृत्यु भइसकेका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ।
प्राप्त उजुरी तथा सूचनाहरूको छानबिनपछि आयोगले पुस १५ गते अन्तिम मतदाता नामावली जिल्ला तथा वडा कार्यालयमा सार्वजनिक गर्ने जनाएको छ।












