मंसिर ९, जनकपुर ।।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र जनकनन्दिनी सीताको वैवाहिक मिलन भएको विश्वासमा मंगलबार(आज) देशभर विवाह पञ्चमी पर्व भव्यरूपमा मनाइँदैछ ।
विशेषगरी मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा आज भगवान राम र सीताको विवाहको अवसरमा रौनकता छाएको छ।
यस उत्सवमा भगवान राम र सीताको ऐतिहासिक स्वयंवर स्मरणार्थ विधिपूर्वक पूर्न: विवाह धुमधामका साथ गरिँदैछन् ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेको सीताको स्वयंवरकै दिनलाई मिथिलावासीले विशेष पर्वका रूपमा पुस्तौंदेखि मनाउँदै आएका छन् ।
पौराणिक कथन अनुसार राजा जनकले राखेको स्वयंवरमा अयोध्याका राजा दशरथका जेठा पुत्र रामले शिवधनुष उठाएर तीन टुक्रा पारेपछि सीताको विवाह रामसँग तय भएको मानिन्छ ।
रामायण अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास पनि रहेको छ। यही क्षणलाई आधार मानेर मंसिर शुक्ल पञ्चमीलाई विवाह पञ्चमी पर्वको रूपमा स्थापित गरिएको जनविश्वास छ ।
यही महोत्सवका क्रममा आज मटकोर, तिलकोत्सव, स्वयंवरदेखि वैवाहिक संस्कारसम्मका सबै परम्परागत विधिहरू जनकपुरधाममा पुनःगरिन्छन् ।
विवाह सम्पन्न भएपछि राम–सीताको प्रतिमालाई जानकी मन्दिरमा पुनःस्थापना गरिने र मिथिला संस्कारअनुसार वैवाहिक अनुष्ठान पूरा गरिने परम्परा समेत छ ।












