मङ्सिर १२, काठमाडौँ
हङकङको एक अपार्टमेन्टमा बुधबार राति लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ, भने कैयौँ मानिस अझै बेपत्ता रहेका छन्। सुरक्षाकर्मीहरूका अनुसार धेरैजसो पीडित सुतिरहेको अवस्थामा धुवाँमा निसास्सिएर ज्यान गुमाएको अनुमान छ।
घटना घना जनसंख्या रहेको आवासीय क्षेत्रमा मध्यराततिर सुरु भएको थियो। आगलागी प्रभावित भवनहरूमा विदेशी कामदारदेखि स्थानीय परिवारसम्म सयौँ मानिस बसोबास गर्दै आएका थिए। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगो लागेको भए पनि वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
उद्धार कार्य निरन्तर जारी छ। गम्भीर घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जहाँ धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
यसैबीच, आगलागीबाट विस्थापित सयौँ मानिसका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने र राहत तथा पुनर्स्थापना कार्यक्रम तीव्र रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।









